मुलुकको विकराल समस्या समाधानका लागि सहकार्य आवश्यक: बद्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले मुलुकका सामू रहेका विकराल समस्या समाधानका लागि सबै राजनीतिक दलहरुवीचको सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा प्रस्ताव गर्दै पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले न्यायपालिका र प्रधानमन्त्रीय प्रणाली रहेको मुलुकमा एमालेका अध्यक्ष केपी शर्माओलीबाट संविधान विपरीतको अभिव्यक्ति आएको भन्दै त्यसप्रति विमति प्रकट गर्नुभयो ।

उहाँले संविधान सहमतिमा संशोधन गर्न सकिने तर संविधानको नभएका प्रावधानको वकालत गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । सांसद पाण्डेले विगतमा राष्ट्रपतिको भूमिकालाई विवादित बनाइएको जिकीर गर्नुभयो ।

उहाँले उपसभामुख पदमा मुक्ताकुमारी यादव उपयुक्त पात्र भएको र दलीय सन्तुलन कायम गर्न पनि यो आवश्यक भएको बताउनुभयो ।

संवैधानिक परिषद्मा समेत उपसभामुखको उपस्थिति रहने हुँदा मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न उहाँको आग्रह थियो ।

Facebook Comments