प्रचण्डलाई प्रतिनिधिसभामा १७२ सांसदकाे विश्वास
प्रतिनिधिसभाका १७२ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएका छन् । याेसँगै प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।
१ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । पाैष १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितकाे गठबन्धन बनेकाे थियाे ।
राष्ट्रपतिकाे चुनावमा एमालेसँग कुरा नमिलेपछि एमाले र राप्रपाले सरकारबाट फिर्ता हुनुका साथै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका थिए ।
सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका हुन् ।
विश्वासकाे मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले सरकार ढुक्कसँग अगाडी बढ्ने बताउनुभएकाे छ । साथै उहाँले केहीदिनभित्रै मन्त्रीमण्डलले समेत पूर्णता पाउने बताउनुभयाे ।

