उपनिर्वाचनः उम्मेदवारकाे मनोनयन दर्ता गरिंदै

चितवन २, तनहुँ १ र बारा २, मा आगामी वैशाख १० मा हुने प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदै छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२, कांग्रेसका रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, र जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र दर्ता गर्ने छन् ।

तनहुँ–१ मा कांग्रेस, एमाले, रास्वपा र अन्य साना पार्टीले उम्मेदवार टुंगो लगाएका छन् । साे क्षेत्रमा कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खड्का, स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र एकीकृत समाजवादीका प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

चितवन–२ मा रास्वपाले केन्द्रीय सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ भने कांग्रेसले जितनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्याैपानले उम्मेदवारी दिने तय भएकाे छ ।

बारा–२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिने निश्चित भएकाे छ । एमालेले पुरूषाेत्तम पाैडेलले उम्मेदवारी दिने बताइएकाे छ, त्यस्तै जनमत पार्टीले शिवचन्द्र कुशवाह, स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने बताइएकाे छ ।

Facebook Comments