मौसम: पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहने
हाल कर्णाली र सुदुरपश्चिम प्रदेशको केहि भू–भाग लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान विभागका अनुसार बुधबार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातकाे संभावना
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राती सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

