त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेवा सुरु
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको उद्घाटन गर्नुभयाे ।
उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु दश प्रतिशतको धेरै ठूलो संख्या रहेको अवस्थामा शिक्षण अस्पतालमा आइभीएफ सेन्टर सञ्चालनमा आउनु एकदमै राम्रो कुरा भएको बताउनुभयाे ।
उहाँले नेपालको स्वास्थ्य उपचारको अवस्था आजसम्म आइपुग्दा पनि प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने दुवै पक्षबाट पूर्ण नभएको गुनासो गर्नुभयाे ।
मन्त्री पाैडेलले भन्नुभयाे, ‘शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको सुरुवात हुँदैछ । यो समाजका लागि आवश्यकता थियो । खासगरी नेपालमा बाँझोपन भएका जोडीहरुमा दश प्रतिशत छन् भन्ने गरिन्छ । त्यो धेरै ठूलो संख्या हो । बुढेसकालमा पाउने सहारा, परम्परागत धार्मिक विषयपनि यसमा जोडिएको छ । त्यसैले मेडिकल विज्ञानमा प्रयोगमा ल्याउनुपर्ने,सहजीकरण गर्नुपर्ने विषय अस्पताले शुभारम्भ गरेको छ । म आभार प्रकट गर्न चाहन्छु ।’
उनले राज्यले स्वास्थ्य सुविधालाई प्रभावकारी ढंगबाट उपलब्ध गराउने स्थिति निर्माण गर्न बिमाको व्यवस्थालाई पुनविचार गर्न जरुरी रहेको धारणा राखे ।

