संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
अधिवेशन शुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
सरकारले संसद् अधिवेशन छलेर अध्यादेश ल्याएको भन्दै कडा विरोध गर्ने तयारीमा प्रतिपक्षी दलहरू रहेका छन् । सरकार भने अध्यादेशलाई जतिसक्दो छिटो फास्ट ट्रयाकमा अध्यादेश पारित गराउने रणनीतिमा छ ।
सरकारले जारी गरेको अध्यादेश संसद् अधिवेशन प्रारम्भ भएको दिनमै पेस गर्नुपर्ने संवैधानिक प्रावधान बमाेजिम सरकारले ल्याएका ६ अध्यादेश शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा ‘टेबल’ गर्ने कार्यसूचीमा राखिएकाे हाे ।
प्रतिपक्षी दलले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना सदनमा दर्ता गराउँदैछन् । संसद्मा रहेका विधेयक फिर्ता नगरी अध्यादेश ल्याइएकोले अस्वीकार गर्नुपर्ने उनीहरूकाे तर्क छ ।
सत्तापक्ष भने प्रक्रिया भन्दा पनि अध्यादेशका विषयवस्तुलाई देखाएर अध्यादेशकाे बचाउ गर्ने तयारीमा छ ।

