सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी
जेन जी पुस्ताकाे आन्दोलनकाे माग अनुसार अन्तरिम सरकार गठनकाे तयारी भइरहेकाे छ ।
विहीबार अबेरसम्म पनि शीतल निवासमा अन्तरिम सरकार गठनका लागि विभिन्न पक्षहरूवीच छलफल भएकाे थियाे । निष्कर्ष निकाल्न भनेर छलफल भएपनि संविधानकाे कुन प्रावधानमा टेकेर अन्तरिम सरकार गठन गर्ने भन्नेमा अन्याैल छ ।
राष्ट्रपतिले बाधा अड्चन फुकाउन मिल्ने संविधानकाे कुनै धारामा टेकेर अन्तरिम सरकार गठन गर्ने तयारी छ । यसमा संसद के गर्ने भन्ने बिषय महत्वपूर्ण बनेकाे छ । किनकि संसद विघटनकाे माग जेन जी पुस्ताकाे छ ।
संवैधानिक रिक्तता हुने अवस्था नहाेस् भन्नेमा सबैकाे एक मत भएपनि संसद विघटनबारे भने विमति देखिएकाे छ । अन्तरिम सरकार गठनपछि संसद विघटन गर्ने कि के गर्ने भन्नेमा अन्याैल देखिएकाे हाे ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा जेन जी पुस्ता, संसदमा प्रतिनिधित्व गर्ने दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानकाे कुन प्रावधानका आधारमा गर्ने भन्नेमा अन्याैलता देखिएकाे हाे ।
राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतका कानुनविदहरूसँग छलफल गर्नुभएकाे थियाे ।
संविधानमा टेकेर नै अगाडि बढ्नुपर्ने राय कानुनविदहरूकाे छ ।

