भरतपुर महानगरपालिकाको नगरसभाको निर्णय सार्वजनिक
भरतपुर महानगरपालिकाले तेस्रो नगरसभाले पारित गरेका निर्णय सार्वजनिक गरेको छ । सभाबाट पारित भएका निर्णय पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि र तीन पाङ्ग्रे सवारी साधन दर्ता तथा शुल्क निर्धारण कार्यविधि नगरसभाबाट पारित भएको छ । पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले आर्थिक ऐन २०७५ मा केही संशोधन गरिएको जानकारी दिनभुयो ।
ती विधेयक राजपत्रमा प्रकाशन पूर्व सङ्घीय सरकार, प्रदेश सरकार, नेपाल पत्रकार महासङ्घलगायत अन्य सरोकारवालाबाट प्राप्त सकारात्मक सुझावलाई समावेश गरी परिमार्जन सहित प्रकाशन गर्ने दाहालले जानकारी दिनुभयो ।
महानगर प्रमुख दाहालले नगरसभाले चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा गर्दै महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सङ्घ संस्था एवं कर्मचारीलाई पुरस्कृत र सम्मान गरिएको जानकारी पनि दिनुभयो ।

महानगरले स्मार्ट सिटीको गुरुयोजना, ठूला पूर्वाधार योजनाको कार्यान्वयन, वडा कार्यालयको सशक्तीकरण, राजश्व प्रशासनमा प्रविधिको प्रयोग र प्राथमिकता, महानगरव्यापी सरसफाइ कार्यक्रमलाई जोड दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, सहकारी क्षेत्रको उचित सरोकार एवं समन्वय, सहकार्य, सिकाइ, गुणस्तर कायम र भएका कामको प्रचारप्रसारलाई पनि भावी कार्यदिशामा समेटिएको छ ।
महानगरपालिकाले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको महानगरीय सभाहल, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको तयारी गरेको छ । महानगरीय चक्रपथ र लिङ्क रोडको शिलान्यास भई काम अगाडि बढेको, अटोल्याण्डको विस्तृत अध्ययन भइरहेको, बहुउद्देश्यीय व्यापारिक भवनको नक्साङ्कन भइरहेको, नारायणी किनारलाई सामुन्द्रिक तटका रुपमा विकास गर्ने काम भइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

उपपप्रमुख पार्वती शाहले केन्द्रीय बस टर्मिनल भरतपुर र पोखरा बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउन लागिएको, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न लागिएको, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लागिएको, फोहरमैला व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।
एफ रेडियो सञ्चालन कार्यविधिमा पत्रकार महासंघको विरोध
पत्रकार सम्मेलनमा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नगरसभाबाट पारित एफएम रेडियो सञ्चालन कार्यविधि मान्य नभएको घोषणा गर्नुभएको थियो । पत्रकार महासंघ चितवन शाखाले नगर सभाले पारित गरेको एफएम रेडियो सञ्चालन कार्यविधि शाही सरकारको पालाको झल्को दिने खालको रहेको भन्दै तत्काल अनुमोदन नगर्न सुझाव दिएको थियो । तर महानगरपालिकाले पछि सुझाव राख्नेगरी पारित गरेको हो ।

