विज्ञान दिवसमाविद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम सम्पन्न

राष्ट्रिय विज्ञान दिवसका अवसरमा काठमाडाैंकाे कमलादीमा विज्ञान प्रदर्शनी सम्पन्न भएकाे छ ।

१४औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम नेपाल साइन्स ओलम्पियाड (नेसो)का अध्यक्ष केशवराज लम्सालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

असोज १ गतेका दिन नेपालभर मनाइने विज्ञान दिवसका अवसरमा रसियन हाउसमा काठमाडाैंमा भएकाे कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

‘नेसो’को आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टिममा महिला’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूको उल्लेख्य उपस्थिति थियो ।

आयोजकका अनुसार नेपाल रसिया विज्ञान तथा प्रविधि सोसाइटी, सेवा नेपाल, एडिया, त्रिमूर्ति एकेडेमी र सर्भिस फर पिस नामक संस्थाहरुले कार्यक्रममा सहकार्य गरेका थिए ।

‘प्रेरित हुनुहोस्, सिक्नुहोस्, जडान हुनुहोस्’ भन्ने नाराका साथ आयोजित अन्तर–विद्यालय विज्ञान प्रदर्शनीमा काठमाडौँ, भक्तपुर र ललितपुरका १५ विद्यालयका विद्यार्थीले विभिन्न वैज्ञानिक परियोजना तथा ‘मोडल’ प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीमा विज्ञानप्रतिको रुचि, खोज तथा सिर्जनशीलता उजागर गरेको आयोजक संस्था नेसाेका अध्यक्ष लम्सालले जानकारी दिनुभयाे ।

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जनार्दन लामिछानेले अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टीममा महिला’ अन्तरक्रिया कार्यक्रमले विद्यार्थीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विषयमा सिक्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान उल्लेख गर्नुभयाे ।

काठमाडौँस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया कोक्लोभाले विज्ञान र प्रविधिको महत्वका बारेमा चर्चा गर्दै प्रस्तुत विज्ञान प्रदर्शनीले विद्यार्थीको सिर्जना, सीप, कला, क्षमता र अभिरुचि उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

मूल्याङ्कनमा भक्तपुरको मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन पहिलो, काठमाडौंको युनिग्लोब स्कुल दोस्रो र काठमाडौंकै भ्याली भ्यू स्कुल तेस्रो भएका थिए । सोही अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा उदाउँदै गरेकी युवा महिला रुविता मगरलाई अन्तरिक्ष विज्ञानअन्तर्गत उनको ‘म्याक२४ अर्बिटल्स’ स्टार्टअपका लागि विशेष सम्मान गरिएको थियो ।

प्रदर्शनीसँगै क्याथफोर्ड कलेजका प्रधानाध्यापक डा. सुनिल पोख्रेलले ‘नेपालमा विद्यालय विज्ञान शिक्षा पुनर्विचार’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने, नास्टका पूर्व उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, रसियन हाउसकी निर्देशक अनास्तासिया कोक्लोभा, नेसोका अध्यक्ष केशवराज लम्साल, सेवा नेपालकी अध्यक्ष कल्याणी शाहलगायत आयोजक संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, वैज्ञानिक तथा विभिन्न सङ्घसंस्था र विज्ञानमा चासो राख्ने व्यक्तिको उपस्थिति थियो ।

तत्कालनीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वकाे सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

Facebook Comments