वाइडवडी प्रकरण : उपसमितिको प्रतिवेदन बदनियतपूर्ण रहेको रक्षामन्त्रीको दावी
नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस संगठन कास्की शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु वदनियतपूर्ण भएको टिप्पणी गर्नुभयो ।
उपसमितिको प्रतिवेदन बदनियतपूर्ण रहेकै कारण जहाज खरिद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो । सरकारले गठन गरेको समितिले दिने प्रतिवेदनका आधारमा कारबाही अघि बढ्ने मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले निर्मलाका हत्यारालाई पक्राउ गरिछाड्ने बचन दिनुभयो । रेशम चौधरीको शपथ ग्रहणका बारेमा बोल्दै उहाँले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर सांसदको सपथ ग्रहण गराइएको उल्लेख गर्नुभयो ।
जनताको मतबाट निर्वाचित भएको ब्यक्तिलाई निर्वाचन आयोगले जितेको प्रमाणपत्र दिनु गलत नभएको उहाँको भनाई थियो । पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्त सम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताले रुप लिने पोखरेलले बताउनुभयो ।

