झिकिसकेको ६ लाख ९९ हजार ९८९ अमेरिकी डलर पुनः जम्मा गर्न व्यापारी सुमार्गीका नाममा सर्वोच्चको आदेश

ब्यापारी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम अनुसन्धान चलाउन आदेश दिएको हो । सर्वोच्चले यसअघिको आदेशपछि झिकिएको रकम पनि पुनः खातामा जम्मा गर्न आदेश जारी गरेको छ । सर्वोच्चकै यसअघिको आदेशलगत्तै सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट अमेरिकी डलर ६ लाख ९९ हजार ९८९ झिकिसकेको श्रोतले जनाएको छ ।

व्यापारी अजयराज सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्र्याएको रकम नेपाल राष्ट्र बैंकले रोक्का गरेपछि अदालतमा मुद्दा परेको थियो । रकम पठाउने व्यक्ति अजेयराज सुमार्गी पराजुली रहेको र आफैंले आफ्नै कम्पनीमा पठाएको रकम शंकास्पद रहेको भन्दै अदालतले सम्पत्ति शुद्धीकरण आर्कषित हुने फैसला गरेको हो ।

यसअघि न्यायाधीश दीपकराज जोशीको इजलासले रकम झिक्न मिल्ने अल्पकालीन आदेश जारी गरेको थियो । नवनियुक्त प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश आनन्द मोहन भट्टराईको संयुक्त इजलासले यसअघि जारी भएको आदेश कानुन, न्याय र अदालतले अनुसरण गर्ने प्रक्रिया नमिलेको ठहरसहित सुमार्गीलाई सो रकम पुनः जम्मा गर्न निर्देशन दिएको हो ।

सो रकम कानुनको प्रक्रिया पूरा गरी आएको हो कि होइन भन्ने नबुझी रकम झिक्न नमिल्ने अदालतको आदेशमा उल्लेख गरिएको छ । सुमार्गीले सिमेन्ट उद्योग खोल्नका लागि भनी विदेशबाट करीब ५ अर्ब रुपैयाँ ल्याएको देखिएको छ ।

Facebook Comments