चिकित्सा शिक्षा विधेयक संसदमा पेश, सहमति कायम गर्न काँग्रेसको आग्रह

चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा आज पेश गर्नुभएको हो ।
कांग्रेसका सांसदहरुले विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् । साउन २१ गते संसदले विधेयक समितिमा पठाएको थियो ।

समितिले छलफलका लागिदश सदस्यीय उपसमिति गठन गरी पटक पटक बैठकबाट छलफल गरेको थियो । उपसमितिले विधेयकमाथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेको थियो । पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते कांग्रेसका सांसदहरुको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो ।

सहमति कायम गर्न काँग्रेसको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरूसँग सहमति गरेरमात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सहमति गरेरमात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गर्नुभएको हो ।

साथै बडुले बहुमतको आडमा पारित गराउन खोजेमा आफ्नो पार्टीले संसद बैठक अवरोध गर्न बाध्य हुने चेतावनी समेत दिनुभयो । वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको सहमति सो विधेयकमा हुनुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसको अडान रहेको छ । कांग्रेस नेता बडूले वरिष्ठ अनसनरत चिकित्सक केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो ।

Facebook Comments