वाइडबडी विमान खरिदमा देउवा प्रधानमन्त्री हुँदा कुनै निर्णय नभएको काँग्रेसको दावी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वाइडबडी विमान खरिदको छानबिन निपष्क्ष रुपमा गर्न माग गरेको छ । छानविन आग्रह, दबाव र प्रभावबाट मुक्त भएर हुनुपर्ने भन्दै काँग्रेसले विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गर्नुभयो । पार्टी सभापति देउवा प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालय रहेको र यसबारेमा क्याबिनेटस्तरीय वा प्रधानमन्त्रीस्तरीय कुनै पनि निर्णय नभएको प्रवक्ता शर्माको दाबी थियो ।

विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल प्रचण्ड र विमान आउँदा केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको काँग्रेस प्रवक्ता शर्माले बताउनुभयो । काँग्रेसले विमान खरिद प्रकरणबारे गम्भीर छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको भन्दै उहाँले छानविनमा काँग्रेसको सहयोग रहने स्पष्ट पार्नुभयो ।

केसीको मागमा संवेदना खोई

यसैबीच, काग्रेसले अनसनरत डा गोविन्द केसीको मागप्रति सरकार संवेदनाहीन बनेको आरोप लगाएको छ । साथै सो पार्टीले केसीका मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । केसीको स्वास्थ्य अवस्था बिग्रिँदा पनि सरकार त्यसप्रति संवदेना शून्य बनेको भन्दै कांग्रेसले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

Facebook Comments