सुख्खा बन्दरगाह शिलान्यास, आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुग्ने विश्वास

काठमाण्डौको कीर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गर्नुभएको हो । साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाह निर्माणपछि अन्तर्राष्ट्रिय व्यापारलाई सहज हुने बताउनुभयो । बन्दरगाह निर्माण भएपछि मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान र्पुयाउने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाइ हुन गएको बताउनुभयो ।

दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको धारणा राख्नुभयो ।

उहाँले सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । स्थानीयले सुख्खा बन्दरगाह शिलान्यासको विरोध गरेका थिए । विरोध आवाज सुनेपछि प्रधानमन्त्री ओलीले जायज माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तेस्रो मुलुकसँग व्यापारलाई सहज बनाउन पनि काठमाडौंमा सुख्खा बन्दरगाह बनाउनु परेको स्पष्ट पार्नुभएको छ । बन्दरगाह निर्माण हुने वित्तिकै नेपालको अन्तर्राष्ट्रियस्त व्यापार पनि सहज हुने मन्त्री यादवको विश्वास थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सुख्खा बन्दरगाह निर्माण भएसँगै नेपालको अन्तर्राष्ट्रिय व्यापार सहज हुने बताउनुभयो । बन्दरगाह निर्माण भएपछि काठमाडौंमै आयातित बस्तुको चेकजाँच हुनेछ । विश्व बैंकको ऋण सहयोगमा सो सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो ।

एक अरब २८ करोड १० लाख ५० हजार लागत अनुमान गरिएको सो बन्दरगाह नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गर्न लागेको हो । १८ महिना भित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने गरी सम्झौंता गरिएको छ ।

Facebook Comments