जापानमा नेपाली श्रमिक पठाउने विषयमा छलफल
नेपाल र जापानवीच नेपाली श्रमिक पठाउने विषयमा छलफल भएको छ । नेपाल र जापानी प्रतिनिधिबीच काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा संयन्त्र गठन गर्नेबारे छलफल भएको हो । यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवम् मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो । बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे औपचारिक रूपमा जानकारी गराएको थियो ।
बैठकमा आगामी दिन द्विपक्षीय संवाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ । नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यममार्फत नेपालको विकासमा योगदान पु¥याउने वातावरणको सिर्जना गर्ने गरी दुवै देशले सहकार्य गर्दै जाने सहमति भएको छ ।

