संसदको मर्यादा नाघ्न सक्दिन, निर्देशन मान्छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सर्वोच्चतामाथि आफूले केही गर्न नसक्ने बताउनुभएको छ । बहुमत हुँदैमा सार्वभौम संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाई छ । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

संसद बैठकमा प्रधानमन्त्रीसँग सिधा प्रश्नोत्तरका क्रममा काँग्रेस सांसद गगनकुमार थापाले डा गोविन्द केसीको १६ औँ अनशनका विषयमा राख्नुभएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले एक जना अनशन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताउनुभएको हो ।

सांसद थापाले प्रतिनिधिसभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले बहुमत छ भन्दैमा संसदलाई आदेश दिन नसक्ने उल्लेख गर्दै बरु आफूले संसदको निर्देशन पालना गर्ने बताउनुभयो ।

१६औँ अनशन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले व्यक्तिको अनशनले देशै ठप्प हुने अवस्था आउन नहुने धारणा राख्नुभयो । केही नेपाली नागरिकहरूले ५० अर्ब रुपैयाँ भन्दा धेरै स्विटजल्र्याण्डको बैंकमा राखेको पाइएको प्रति उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले सत्यतथ्य छानबिन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल जलमार्ग र रेलमार्गको विकासमा अघि बढिरहेको दाबी गर्नुभयो । कोलकाता बन्दरगाह पुग्न एकडेढ सय किलोमिटरमात्र बाँकी हुनेगरी जलमार्गको विकास हुने उहाँले जानकारी दिनुभयो । वीरगञ्ज–काठमाडौँ रेलमार्गबारे भारत सरकार र केरुङ–काठमाडौँ रेलमार्गका लागि चीनसँग काम अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

साथै उहाँले चीन र भारतसँग भएका पारवहन सम्बन्धि प्रोटोकल सम्झौताले अव नेपाल ल्याण्ड लक्ड नभई ल्याण्ड लिन्क्ड वा ओपन्ड भएको उल्लेख गर्नुभएको छ । सांसदले नै सोधेको संविधान संसोधनको प्रश्नमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पताल केन्द्र सरकार मातहत ल्याउन काँग्रेसको माग

नेपाली काँग्रेसका नेताहरुले आफ्ना पार्टीका नेताहरुको नाममा स्थापित अस्पतालहरुलाई संघ सरकार मातहत ल्याएर संचालन गर्न माग गरेका छन् । संसद बैठकमा सांसद डा. मिनेन्द्र रिजालले कांग्रेस नेताहरुका नाममा खोलिएका अस्पतालबारे सरकारको धारणा माग गर्नुभएको थियो ।

रिजालको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ती अस्पतालहरुलाई सरकारले प्रभावकारी बनाउन खोजिरहेका बेला कांग्रेस नेताहरुले आफूसँग यथावत् राख्ने कि नराख्ने भनेर प्रश्न गरेको प्रसंग उल्लेख गर्नुभएको थियो ।

कांग्रेसका प्रमुख सचेतक बालकृण खाँणले दुवै अस्पतालका लागि सरकारसँग बजेटको व्यवस्था गरेर अधुरा कामहरु पूरा गर्न माग गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको स्वास प्रश्वास सम्बन्धि अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको अस्पताललाई सरकारले खारेज गर्न खोजेको भन्दै काँग्रेस नेताहरुले आपत्ति जनाउँदै आएका छन् । सरकारले भने अस्पताल खारेज गर्नेबारे कुनै छलफल नभएको बताएको छ ।

Facebook Comments