तरकारी बाली लगाउँदा के मा ध्यान दिने
तरकारी बालीहरु
- आगामी साताको मध्य र अन्त्यमा मध्य तथा उच्च पहाडमा हल्का वर्षा हुने संभावना रहेको तर ती क्षेत्रमा आलु लगाउने समय पनि भएकोले मौसमको अवस्था हेरि सिफारिस गरिएका जातहरु- जनकदेव, खुमल उज्वल, खुमल उपहार, कुफ्री ज्योति, खुमल विकास जस्ता जातहरु रोप्नुहोस्।
- सुख्खायाम भएकोले मध्यपहाडमा आलु लगाएको जग्गामा माटो सुख्खा भई धाँजा फाटेमा आलुको दानामा लाग्ने पुतलीको प्रकोप बढि हुने र त्यसले पछि भण्डारणमा क्षति पुर्याउने हुँदा आलु खन्नु अघिसम्म जमीन बाहिर दाना निस्कन नपाउने गरी (कम्तीमा २ इञ्च) माटो चढाइ राख्नुहोस्। आलुका दाना बाहिर देखिएमा आलु हरियो भई विषाक्त हुने भएकोले त्यस्ता दाना खानयोग्य हुदैनन्।
- पश्चिम नेपालका पहाडी भेगहरुमा साताको मध्य र अन्त्यतिर केही स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने संभावना रहेकोले माटोमा चिस्यानको अवस्था हेरेर मात्र आलुबालीमा सिँचाई गर्नुहोस्। तराई, भित्री मधेश तथा बेँशीमा लगाएको आलुबाली परिपक्व भैसकेको भए अब सिँचाई नगर्नुहोस्।
- तराई, भित्री मधेश तथा बेँशीमा लगाएको बीउ आलुमा हाल्मपुलिङ (बोट काट्ने, दाना जमीनमै छोडी बोट उखेल्ने) गर्नुहोस्।
- आगामी साताको मध्य र अन्त्यतिर हल्का देखि मध्यम खालको वर्षा हुने संभावना रहेकोले आलुबालीमा डढुवा रोगको प्रकोप बढ्न सक्छ। रोगको व्यवस्थापनको लागि सेक्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्नुहोस्।
- तराईमा लगाइएको आलुबालीमा लाही कीराको प्रकोप बढ्ने र भाइरस रोग लाग्ने संभावना रहेकोले उक्त कीराका व्यवस्थापनका उचित बिधिहरु अपनाउनुहोस्।
- धमिरा र रातो कमीलाको प्रकोप देखिने जिल्लाहरुमा आवश्यक्ता अनुसार सिँचाई दिई जग्गा सुख्खा हुन नदिनुहोस्।
- नर्सरी ब्याडमा बेर्ना उम्रिसकेपछि सेतो प्लास्टिकको छानोलाई दिनमा उघार्ने र राति तथा पानी परेको बेला ढाक्नुहोस्।
- प्रत्येक वर्ष गाँठे रोग लाग्ने जग्गामा काउली समूहका बालीलाई यस रोगबाट जोगाउन बाली लगाउने समयदेखि नै उचित व्यवस्थापनका विधिहरु अपनाउनुहोस्।
- भण्टाको डाँठ तथा फलको गबारोको अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।

गोलभेँडामा पात खन्ने कीरा (Tuta absoluta) को अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
- गोलभेंडामा लाग्ने गवारो (Fruit borer) कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा HaNPV (हेली एन.पि.भी.) २५० LE को १.५ मि.लि. हालेर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा व्याक्टेरियाजन्य (बी.टी.) Bt (डाईपेल, बायोलेप) ३ ग्राम प्रति लिटर पानीमा मिसाएर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ इ.सि. ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि स्प्रे गर्नुहोस्। साथै कीराले नोक्सानी गरेका फलहरु संकलन गरी खाडलमा पुर्नुहोस्।
- बीउ उत्पादनको लागि रोपिएको मूला र रायो बालीमा अल्टरनेरिया पात थोप्ले रोग लाग्ने संभावना भएकोले नियमीत अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
लाही कीरा (एफीड)
- १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरी राखेर लाही लागेको ठाँउमा भिज्ने गरी भोलीपल्ट छर्कनुहोस्।प्रकोप ज्यादा देखिएमा मालाथियन ५० इ.सी., २ एम. एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्ने गरी छर्कनुहोस्।
अन्य
- कन्ये च्याउ उत्पादन गर्न चाहने किसानहरुले २०-३०° सेल्सियसको तापक्रम र ८०-९० प्रतिशतको सापेक्षिक आर्द्रता कायम गरि च्याउ खेती गर्नुहोस्।
- खेतबारीमा देखिने सबै कीराहरु हानिकारक हुँदैनन्। तसर्थ कीरा देखिने बित्तिकै विषादीको प्रयोग नगरौँ। मित्रजीव कीराहरु जस्तै: माकुरा, गाइने कीरा, सात थोप्ले खपटे कीरा, बारुला, नमस्ते कीरा (प्रेइड्ग मेन्टीड) देखिएमा तिनीहरुको संरक्षण र सम्बर्धन गरौं।
- यस साता आंशिक देखि पूर्ण बदली हुने संभावना रहेकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
श्रोतःकृषि-मौसम सल्लाह सेवा बुलेटिन
Facebook Comments

