कर्मचारी संयन्त्रमा हस्तक्षेप गरे सरकारविरुद्ध आन्दोलन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालत, कर्मचारी संयन्त्रमा हस्तक्षेप गरेमा ओली सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । पोखरामा नेपाल निजामती कर्मचारी युनियन (संघ)प्रदेश कार्य समिति गण्डकीको ‘प्रशिक्षण सम्मान तथा परिचयात्मक बनभोज कार्यक्रम’मा बोल्दै सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकारले कर्मचारी संयन्त्रमा हस्तक्षेप गरेको बताउनुभयो ।
अदालत, कर्मचारी संयन्त्र लगायतमा नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले चिकित्सा शिक्षा विधेयक, कर्मचारी समायोजन लगायतमा सरकारले हस्तक्षेप गर्न खोजेको बताउनुभयो । यस्तै अवस्था रहे वर्तमान केपी शर्मा ओली सरकारबिरुद्ध काँग्रेस संसद र सडक आन्दोलनमा उत्रने उहाँको भनाई छ ।
कर्मचारीलाई भयरहित र स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने पक्षमा आफूहरु रहेको भन्दै सरकारको अनावश्यक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने देउवाको भनाई थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले ओली सरकारमा प्रजातन्त्र मास्नेतर्फ लागेको आंशका व्यक्त गर्नुभयो । कांग्रेसका महान नेताहरुप्रति ओली सरकारलाई एलर्जी भएको जस्तो छ । यसले प्रजातन्त्रप्रतिको आस्थामा प्रश्न उब्जाएको देउवाले जिकीर गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका कारण कर्मचारीको वृत्ति विकासमा असर पार्ने काम भए आफूहरुलाई मान्य नहुने बताउनुभयो । वर्तमान सरकारले समायोजनका नाममा कर्मचारीलाई आतंकित पार्ने काम भएको पौडेलको आरोप रहेको छ ।

Facebook Comments