पोखरा रोयल सहकारीमा एटिएम सेवा शुरु
पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरामा अव सहकारीका सदस्यहरुले एटिएम लिन सक्ने भएका छन् । एटिएम सेवाको सोमाबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सहकारीहरुले पनि समयानुकूल विकसित आधुनिक प्रविधि मार्फत् सेवा प्रवाह गर्नु सकारात्मक रहेको उल्लेख गर्नुभयो । आफ्ना सेयर सदस्यहरुको सहज र प्रविधिमैत्री सेवा प्रवाह गर्नका लागि एटिएम सेवा सञ्चालनमा ल्याइएको सहकारीका सचिव भीम गुरुङले जानकारी दिनुभयो ।
पोखरा रोयलले वितरण गर्ने एससिटी कार्ड नेपालभरका एटिएम मेसिनमा प्रयोग गरेर पैसा निकाल्न सकिने बताइएको छ । यसअघि मोवाइल बैकिङ सेवा सञ्चालनमा ल्याएको सहकारीमा ५ हजार जना सेयर सदस्य छन् ।

