नेपाल सामाजिक आर्थिक रुपान्तरणको बाटोमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न विकसित देशसँग आग्रह गर्नुभएको छ । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठक अन्तर्गत स्वीजरल्यान्डको डाभोसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि सहयोगको आह्वान गर्नुभएको हो ।
उहाँले नेपाल सामाजिक आर्थिक रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास विकास र समृद्धिमा केन्द्रित गरेको उल्लेख गर्नुभयो । २०७२ सालमा संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएको भन्दै प्रधानमन्त्री ओलीले वातावरण संरक्षण, दिगो विकासका लागि प्रयास भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका वैदेशिक लगानी आवश्यक हुने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल सरकारले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ को लक्ष्य साकार पार्ने उहाँले जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले जलमार्ग तथा रेल सञ्जाल स्थापनाका लागि पनि प्रयास थालनी गरेको र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको उल्लेख गर्नुभयो ।
तस्वीर श्रोतः विश्व आर्थिक मञ्च

