अयोग्यको विल्ला हटाई गणतान्त्रिक नेपालको योद्धा सम्मान नदिए आन्दोलन

बहिगर्मित जनमुक्ति सेना, नेपालले काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरूले काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित प्रदर्शन गरिएको हो । बहिगर्मित जनमुक्ति सेना, नेपालका अध्यक्ष सुनील लिम्बुले आफूहरूमाथि लगाइएको अयोग्यताको बिल्ला तत्काल खारेज गरी ‘गणतान्त्रिक नेपालको योद्धा’को सम्मान नदिए सरकारविरूद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो ।

बहिर्गमनमा परेका माओवादी पूर्व जनसेनाले समायोजनमा परेका लडाकु सरह आर्थिक सहायता उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्दै आएका छन् । तत्कालीन सरकारले सेना समायोजनमा अयोग्य रहेको भन्दै माओवादीका पूर्व केही लडाकुहरूलाई सेना समायोजन हुनबाट बञ्चित गराउँदै जीविकोपार्जनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको थियो । तर त्यो सहमति सरकारले पूरा नगरेकोमा उनीहरूको आपत्ति रहेको छ ।

अध्यक्ष लिम्बुले आफूहरूसँग गरेको सहमति अब पनि पूरा नगरे काठमाडौंको सुरक्षा घेराभित्र रहेको सरकारलाई गाउँमा जाँदा ठूलो सुरक्षा चुनौती हुने चेतावनी समेत दिनुभएको छ । २०६६ साल माघ १० गते अर्थात आजकै दिन अनमिनले अयोग्य घोषित गरी ४ हजार नौ सय लडाकुलाई निकालिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै अध्यक्ष लिम्बुले आफूहरूमाथि लगाइएको अयोग्यताको बिल्ला सरकारले अब पनि नहटाए पुनः युद्धमा होमिने बताउनुभयो ।

Facebook Comments