पोखरा महानगरको नगरसभा : ९ विधेयकमाथि छलफल हुने
पोखरा महानगरपालिकाको चौथो नगरसभा आज शुक्रबारदेखि शुरु हुँदैछ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले केही विधेयकहरुको मस्यौदा सिफारिस नगरसभामा पेश गर्ने निर्णय गरेको छ । पोखरा महानगरपाकिलाका मेयर मानबहादुर जिसीले यो नगरसभामा ९ वटा विधेयकहरुको मस्यौदाहरुमा छलफल गरिने बताउनुभयो ।
विधायन नगरसभा भएकोले २६ औं कार्यपालिकाको बैठकले तय गरेको विधायन समितिले छलफल गरेर उक्त विधेयकको मस्यौदाहरु सिफारिस गरेको मेयर जिसीको भनाई छ । दुई दिनसम्म चल्ने नगरसभामा पोखरा महानगरपालिकाले यस आर्थिक वर्ष २०७५ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, खेलकुद विकास विधेयक, प्रहरी व्यवस्थापन विधेयकको मस्यौदाहरुमाथि छलफल गर्नेछ ।
त्यस्तै, पर्यटन विकास विधेयक, पूर्वाधार व्यवस्थापन विधेयक, सुशासन विधेयक, आर्थिक ऐन, सहकारी विधेयक, स्मार्ट सिटि हव परियोजना संचालन कार्यविधि र पोखरा महानगरपालिका पदाधिकारीहरुको आचारसंहिता लगायतका मस्यौदाहरुमा छलफल हुनेछन् । नगरसभामा छलफलका लागि तयार पारिएको विधेयकको मस्यौदाहरु महानगरपालिकाको वेवसाइटमा राखिएको पोखरा महानगरपालिकाले जनाएको छ ।

