नेपालसँग युएई १४५ रनले पराजित

नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा  युएईलाई १४५ रनले हराउँदै श्रृंखला बराबर गरेको छ । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलर सामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिन बाध्य बन्यो । नेपाली खेलाडी सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आएको थियो । सोमपाल प्लेयर अफ दि म्याच बनेका छन् ।

नेपालका सोमपाल कामीले ५ विकेट र सन्दीप लामिछानेले ४ विकेट हात लिएका थिए । अर्को एक विकेट भने रन आउटबाट पाएको थियो । यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट र कीर्तिमानी ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । नेपालका लागि रोहितले ५५ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडेका थिए । कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१÷२१ रन जोड्दा करण केसीले १८ रन बनाएका थिए ।

सन्दीप लामिछाने १४ रनमा अविजित रहँदा दिपेन्द्र सिंह ऐरी १० रनमा आउट भए भने ललित नारायण राजवंशी ३ रनमा अविजित बने । शुक्रबार पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै राम्रो शुरुवात गरेका थिए ।

Facebook Comments