बजेट समयमै कार्यान्वयन गराउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको निर्देशन
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विनियोजित बजेट समयमै सही रुपमा खर्च गर्ने व्यवस्था मिलाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबारको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
सो अवसरमा मन्त्री गुरुङले मन्त्रालय आ.व. ०७५÷७६मा तय भएका कार्यक्रम तथा बजेट र मन्त्रालयका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । सचिवले मन्त्रालयका तर्फबाट भएका प्राविधिक पक्षबारे समिति समक्ष आफ्ना भनाई राख्नुभएको थियो ।
साथै समितिले नागरिकले दोहोरो कर तिर्नुपरेको गुनासो आएकाले सो का सम्बन्धमा समेत आवश्यक सहकार्यका साथ जनताका जायज गुनासा सम्बोधन गर्न निर्देशन दिएको समिति सभापति दिपक कोइरालाले जानकारी दिनुभयो ।
समितिले यसअघि भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयका सम्ब्न्धित मन्त्री र सचिवसँग छलफल गरी आवश्यक निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।

