वैदेशिक रोजगारीमा जानेलाई सञ्चयकोषमा आबद्ध गराउने श्रममन्त्री बिष्टको घोषणा
श्रम तथा सामाजिक सुरक्षा मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि सञ्चयकोषमा आवद्ध गराउने बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा दिइएको सुझाव अनुसार मन्त्री विष्टले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रतिवेदनमा विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिइएको छ । समितिले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष सिफारिश गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा रहेका करीब ४३ लाख युवालाई यस अभियानमा सहभागी गराउँदा दीर्घकालीन रुपमा आन्तरिक पूँजी निर्माण गर्न तथा विप्रेषण आप्रवाहमा देखिएको समस्यालाई समाधान गर्नसमेत सहयोग पुग्ने प्रतिवेदनमा औँल्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको योजनामा चरणबद्ध रुपमा आबद्ध गर्न सिफारिश गरिएको छ । पहिलो चरणमा नेपालबाट श्रम स्वीकृति प्राप्त गरी नेपाल सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका देशमा वैदेशिक रोजगारीमा गएका वा जाने नेपाली श्रमिकलाई समेट्न प्रतिवेदनले सुझाव दिएको छ ।
दोस्रो चरणमा विदेशमा व्यापार÷व्यवसाय गरिरहेका नेपाली नागरिक र तेस्रो चरणमा गैरआवासी नेपालीलाई योजनामा समेट्न सिफारिश गरिएको संयोजक दाहालले जानकारी दिनुभयो । प्रतिवेदन ग्रहण गर्दै श्रम तथा सामाजिक सुरक्षा मन्त्री विष्टले कार्यदलले गरेका सिफारिश कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो ।
प्रतिवेदनलाई तत्काल कार्यान्व्यनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रतिवेदनमा प्रस्तुत सुझावलाई गम्भीरताका साथ अध्ययन गरी सिफारिश गरिएका पक्षलाई कार्यान्वयन गर्न आवश्यक ऐन, कानून निर्माण गर्ने बताउनुभयो ।

