चिकित्सक संघले शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने
नेपाल चिकित्सक संघले शुक्रबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहिबार संघले विज्ञप्ति जारी गर्दै सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै घोर भत्र्सना गरेको छ । साथै डा. गोविन्द केसीको जीवन रक्षाका निम्ति संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर मानवीय संवेदनशीलताका रुपमा हेरिदिन समेत आग्रह गरिउको छ ।
नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, देशभर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले पूर्णरूपमा कार्यान्वयन गर्न गराउन संघले अनुरोध गरेको छ । संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ ।

