पोखरा–९ मा बोल्ने कलाको तालिम सम्पन्न
पोखरा महानगरपालिका वडा नं ९ मा तीनदिने बोल्ने कलाको तालिम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं ९ को सहयोगमा तमुधिं नेपाल केन्द्रीय आमा समितिले तालिमको आयोजना गरेको हो ।
तालिममा ३६ जना तमु आमा दिदीबहिनीहरुको सहभागिता थियो । समितिकी सचिव बिना घलेको संयोजकत्वमा सञ्चालित तालिममा संचारकर्मी हुमबहादुर तमु र महिला नेतृ सरस्वती तमुले सहजीकरण गर्नुभएको थियो ।
पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्दै बोल्ने कला सिकेर व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो । यसभन्दा अघि वडाभित्रका धेरै महिला समुहहरुलाई उद्घोषण कला, लेखा, बुटिक बनाउने र दलित समुदायमा पञ्चे बाजाका कार्यक्रमलाई महानगरको वडा नं ९ ले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो ।
तालिमको सहभागीहरूमध्येबाट नागबेली तमु समाजकी देवी तमु उत्कृष्ट भई प्रथम पुरस्कार प्राप्त गर्नुभउको थियो । कार्यक्रममा तीन दिनको उदघोषण कला सिक्ने क्रममा आमा, दिदी बहिनीहरूले आफूभित्र रहेको डर र अप्ठेरोपनलाई हटाउदै मञ्चमा उभिएर बोल्न सक्ने महशुस गरेको सहभागीहरुले अनुभव सुनाएका थिए।

