व्यापारिक र वित्तीय अनुशासनले मात्र समृद्धि सम्भव : मन्त्री गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले व्यापारिक र वित्तीय अनुशासनले मात्र मुलुकको समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । थोक व्यवसायी संघ, पोखरा कास्कीको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले हरेक क्षेत्रमा अनुशासन महत्वपूर्ण हुने बताउनुभएको हो ।

उहाँले आयातित सामन बेच्ने भन्दा पनि आवश्यकता अनुसारका सामान स्वदेशमै उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले व्यापार घाटा कम गर्न पनि स्वदेशमै उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरुलाई नयाँ सोच र मानसिकताका साथ काम गर्न आग्रह गर्दै उहाँले परिवर्तनलाई आत्मसाथ गरेमा मात्र अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो ।
‘समृद्ध नेपाल बनाउने अभियान सबैको साझा अभियान हो, मन्त्री गुरुङले भन्नुभयो, आज नेकपाको सरकार छ भोली काँग्रेसको सरकार बन्ला वा फेरि नेकपाकै बन्ला जे भएपनि अव समृद्धिका लागि सबै एकजुट हुनुपर्छ ।’ जनताका आधारभूत समस्या समाधानका लागि सरकार लागिपरेको भन्दै मन्त्री गुरुङले अव विदा भनेर बस्ने भन्दा पनि २४ सै घण्टा सेवा दिने तथा राज्यलाई कर तिर्ने लगायतका सबालमा निजी क्षेत्र उदार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले करलाई एकद्वार प्रणालीमा ल्याउन, व्यवसाय तथा उद्योग दर्ता लगायतलार्ई सहज बनाउन आग्रह गरेका थिए । कर, दर्ता प्रक्रिया बैंकको व्याज, घरभाडा बृद्धि लगायतले लगानी र व्यवसायमैत्री वातावरण बन्न नसकेको व्यवसायीको गुनासो रहेको थियो ।
कार्यक्रम संघका अध्यक्ष टामलाल घिमिरेको अध्यक्षता र महासचिव प्रेमप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । शनिबार नै हुने बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

