पोखरा जुलोजिकल पार्कमा बन्यजन्तु उद्धार केन्द्र निर्माण हुने
पोखरा जुलोजिकल पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच बन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेल बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागी छुट्याइएको १ करोड ५० लाख बजेट कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।
वन्यजन्तु उद्धार केन्द्र निर्माणको काम पनि शुरु भएको छ । सम्झौता अनुसार वन्यजन्तु उद्धार केन्द्रमा मृगको इनक्लोजर, वन्यजन्तुका लागी पानी ट्याङकी, बांदरका लागी इनक्लोजर र विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटो निर्माण गरिने छ ।
जसमा मृगको इनक्लोजरमा ५० लाख ३६ हजार ७७ रुपैया, वन्यजन्तुका लागी पानी ट्याङकी निर्माणका लागी २ लाख ५ हजार ४ सय २८ रुपैया, वांदरको इनक्लोजरका लागी २७ लाख ३७ हजार ४ सय ५ रुपैया र विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटोका लागी १६ लाख ४६ हजार २ सय ९७ रुपैया छुट्याइएको छ ।
उक्त रकम बाहेक स्थानीयको २० प्रतिशत जनसहभागीताबाट वन्यजन्तु उद्धार केन्द्रको पहिलो चरणको काम आगामी असार भित्रमा सम्पन्न गराइसक्नुपर्ने वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्सालले जानकारी दिनुभयो ।
जुलोजिकल पार्कमा दोश्रो चरणमा मयुरको इनक्लोजर, घाइते बन्यजन्तुको उपचार कक्ष, विरामी तथा घाइते जनवार बोक्ने स्वचालित स्ट्रेचर, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर, उद्धार कक्षको प्रवेश द्धार निर्माणका लागी सम्झौता गरिने पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिनुभयो ।

