ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग, आन्दोलनको चेतावनी

पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फीरुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ/संस्थाहरूसँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

संघद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्यधिक बृद्धिले उद्योग÷व्यवसायमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उद्योग व्यवसायबाट हातै धुनु पर्ने स्थिति आएको जिकिर गरिएको छ । ‘ऋणको ब्याजमा बृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ’, संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ब्याजदर बृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्था समेत आएको छ । ’

ब्यापार/व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुस्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सृजना हुनु अर्थतन्त्रको लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा उद्योग वाणिज्य संघे बैंक तथा वित्तीय संस्थाहरुले ब्यादर बढाउँदा भएको समस्याबारे बुधबार एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो ।

संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको बैठकमा बोल्ने व्यवसायीहरुले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन भएको धारणा राख्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले ब्याजदर घटाउन निजी क्षेत्रले सामूहिक रुपले दवाब दिनुपर्ने धारणा रराखेका थिए ।

Facebook Comments