मनकामना केबलकार पोखरा कपः पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन फाइनलमा


पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन पोखरामा जारी मनकामना केबलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै क्यामरुन फाइनलमा प्रवेश गरेको हो । अव फाइनलमा क्यामरुनले सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार पोखरा रंगशालामा भएको दोश्रो सेमी फाइनल खेलमा ए डिभिजन लिग च्याम्पियन समेत रहेको मनाङ सडन डेथमा पराजित भएको हो । सडेन डेथमा कप्तान जो एञ्जौलोले गोल गर्दै क्यामरुनी टिमलाई जित दिलाएका हुन् । डिफेन्डिङ च्याम्पियन मनाङका बिमल रानाले प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरिएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १÷१ गोलको बराबरीमा सकिएको थियो । थपिएको ३० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसपछि टाइब्रेकरमा दुबै टोलीका तर्फबाट ४÷४ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो ।

शुरुदेखि नै आक्रामक खेल खेलेको फेमेली क्यामरुनले ६६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसका लागि एन्जमा यानिकले गोल गरे भने मनाङका अफिज ओलावाले ८० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । शनिबारको खेलमा क्यामरुनी टीम डफिन्स टीम फेमेलीका अर्नेल अहाण्डा म्यान अफ दी म्याच घोषित भए ।

फेमेली क्यामरुन र एपिएफ क्लबवीच फाइनल खेल आइतबार दिउँसो पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ प्रदान गरिने आयोजक कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीले जनाएको छ ।

Facebook Comments