मुलुकप्रतिको सपर्मण महत्वपूर्ण : प्रदेश प्रमुख कुँवर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं बार्षिकोत्सव कार्यक्रम पोखरामा पनि मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले विधिको शासनबाट मात्र सुशासन कायम गर्न सकिने बताउनुभयो ।

उहाँले विधिको शासनवाट सुशासन कायम गर्न सकिने भन्दै आयोगले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचरणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । पैसा खानु मात्रै भ्रष्टाचार नहुने भन्दै सरकारले दिएको जिम्मेवारी सकुशल निर्वाह नगर्नु पनि भ्रष्टाचार भएको उहाँको भनाइ थियो ।

गुरु, मातापिता र मुलुकप्रतिको समर्पण निकै महत्वपूर्ण हुने प्रमुख कुँवरको भनाई छ । तर वर्तमान समयमा समर्पणभावमा ह्रास आएको उहाँको भनाई छ । अख्तियारले अनुसन्धान गर्ने न्यायको निरुपण गर्ने त अदालतले हो, अभियोजनको प्रक्रिया सरकारी वकिलले अगाडि बढाउने गर्दछ उहाँले भन्नुभयो, सबै निकायले समन्वयका साथ काम गर्नुपर्दछ ।

विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न नामले संस्थाहरु रहेको उल्लेख गर्दै प्रदेश प्रमुख कुँवरले त्यस्ता निकायले क्रियाशील र उपलब्धिमूलक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

आयोग पोखरा कार्यालय प्रमुख काशीराज दाहालले भ्रष्टाचार नियन्त्रणमा सबैको साथ र सहयोग अपरिहार्य हुने धारणा राख्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाजको निर्माणका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

Facebook Comments