गण्डकी प्रदेशले स्थापना दिवस मनाउने
गण्डकी प्रदेश सरकारले फागुन ४ शनिबार गते स्थापना दिवस मनाउने भएको छ । गत वर्ष सोही दिनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हाल्नु भएको दिनलाई सरकारले प्रदेश सरकारको स्थापना दिवसको रुपमा मनाउन लागिएको हो ।
प्रथम स्थापना दिवस समारोह समितिका संयोजक तथा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थापना दिवसको तयारी पूरा भएको जानकारी दिनुभयो । स्थापना दिवसमा वर्षभरीमा सरकारले गरेका कामको प्रगति बिवरण प्रस्तुत गरिने र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेको छ ।
समारोहका संयोजक एवम् मन्त्री गुरुङका अनुसार सरकारले सोही दिन मन्त्रिपरिषद्को कार्यालयमा रहने गरि स्थापना गरिएको ‘वार रुम’ को शुभारम्भ गर्ने भएको छ । सरकारले प्रदेशका विकास आयोजना तथा विकास निर्माणको कामको अनुगमनको लागि वार रुम स्थापना गरिएको जनाएको छ । प्रदेशबाट सञ्चालन हुने ठूला आयोजनाहरूलाई अनुगमन तथा निर्देशन दिने उद्देश्यले सो वार रुम स्थापना गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

