नागरिकले प्रजातन्त्रको अनुभूति गर्न पाएननः पूर्व राजा शाह
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पुर्खाहरूको पुर्ख्यौली आदर्श प्रजातन्त्र भएको उल्लेख गर्नुभएको छ ।
शाहको विज्ञप्तिमा ‘हामी र हाम्रा पूर्खाको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरूप लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरूप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन ।’ भनिएको छ ।
प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति निराशा र वितृष्णा पैदा भएको उल्लेख गर्नुभएको छ । युवा विदेशिने, नागरिकमा हिनताबोध, राष्ट्रिय भावनामा ह्रास आएको, दण्डहीनता तथ विधिको शासन पालना नभएको जस्ता विषय पूर्व राजाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

