आन्तरिक राष्ट्रियता बलियो भएमात्र मुलुक समृद्धः सभामुख अधिकारी
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आन्तरिक राष्ट्रियता बलियो भए मात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ कास्कीले २० औं मातृभाषा दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया तथा मातृभाषा कविता बाचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक राष्ट्रियता बुझ्न र बुझाउन नसक्दा पहिचानवादी आन्दोलन शसक्त हुन नसकेको बताउनुभयो ।
नेपालको मातृभाषाको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा मातृभाषा वाचन कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बहुल जाति, सँस्कृति भएको मुलुकमा एकात्मक सोंचका कारण राज्य पुनंसरचनामा पहिचानमाथि प्रहार भएको बताउनुभयो । प्रदेश सभा सदस्य मनबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै मौलिक सँस्कृति र सुन्दर प्रकृतिमा आँखा चिम्लेर लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लोकबहादुर थापामगरले नेपालको मातृभाषाको अवस्था, अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पोलबहादुर गुरुङ, धनप्रसाद तामाङ र डा.निर्मल थापाले टिप्पणी र प्रा.डा.यादवराज उपाध्यायले समिक्षा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आदिवासी जनजाति अभियन्ता हुमबहादुर गुरुङले मातृभाषा दिवसको औचित्व र आदिवासी जनजाति आन्दोलनको आगामी मार्गका बारेमा विचार प्रस्तुत गर्नुभएको थियो भने मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा नवराज दुरा, रुद्रबहादुर हिताङ, खिमा गुरुङ, प्रदिप कुलुङ, गिरीप्रसाद गुरुङ, मनसुवा तामाङ, अम्बर तुलाचन, पुर्ण लामा, इश्वरीमाया थापा मगर, दिपक तामाङ, ज्ञानु भुजेल लगायतले आ–आफ्नो मातृभाषामा कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको संचालन महासंघकी सहसचिव ज्ञानु भुजेलले गर्नुभएको थियो ।

