फुड फेस्टिबल फागुन १९ गतेदेखि हुने
पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा हुन लागेको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ २ दिन पछि सरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै महोत्सव दुई दिन पछि सारिएको आयोजक सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसअघि फागुन १७ देखि २५ गतेसम्मका लागि तय भएको महोत्सव अव अब फागुन १९ देखि २७ गतेसम्म हुने तिमिल्सिनाले जानकारी दिनुभयो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भनिएको सातौं संस्करणको महोत्सवमा राखिने सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको आयोजकले जनाएको छ ।
महोत्सवमा १ सय ३० वटा स्टल रहनेछन् । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु रहनेछन् । मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद आकारको शिवलिंगको प्रतिमा तयार पारिएको छ ।
शिवरात्रिका अवसरमा शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको तिमिल्सिनाले जानकारी दिनुभयो । यस पटक क्यान कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेला समेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने आयोजकको अपेक्षा रहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने पनि जनाइएको छ ।
पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा समावेश गरिने महासचिव जीवन दाहालले जानकारी दिनुभयो । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने सांस्कृतिक उपसमिति सदस्य तुलसा जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

