पूर्व अर्थ मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी

पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टी गरिएको हो । तीन छोरीहरु लुना, लिना र लिजाले अधिकारीलाई दागबत्ती दिएका थिए । स्वर्गीय अधिकारीको शवमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर सरकारका तर्फबाट श्रद्धासुमन व्यक्त गर्नुभयो भने सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

त्यसअघि नेकपाका नेतासमेत रहनु भएका अधिकारीको शवलाई श्रद्धाञ्जलीका लागि नेकपाको मुख्यालय धुमबाराहीमा राखिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको थियो ।

नेता अधिकारीको ८२ वर्षको उमेरमा गएराति निधन भएको थियो । १९९३ साल वैशाख २२ मा जन्मनु भएका अधिकारीले २०५१ सालको पहिलो कम्युनिस्ट सरकारमा अर्थमन्त्रीका रूपमा लोकप्रिय र जनप्रिय कार्यक्रम ल्याउनु भएको थियो ।

Facebook Comments