पार्टीले रविन्द्रका सपना पुरा गरोस्, परिवारको साथ रहन्छ : विद्या भट्टराई

घनश्याम पाण्डेय

दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले आफ्नो पारिवारीक दुःखमा आम जनसमुदायको साथ रहेको र मुलुकले नै अधिकारीको निधनबाट अभाव बेहोरेको उल्लेख गर्नुभयो । यस दुःखद घडीमा आफ्नो परिवारप्रति देखाएको माया र सम्मानका लागि पार्टी र आम जनसमुदायलाई भट्टराईले आभार व्यक्त गर्नुभयो ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको परिवारले ७ दिनमा काजकिरिया पूरा भएको अवसरमा निवासमा नै आयोजित श्रद्धाञ्जली सभामा भट्टराईले यस्तो बताउनुभएको हो ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो ‘हाम्रो परिवारप्रति हजुरहरुले गर्नुभएको जुन सम्मान छ, त्यसलाई भुल्यौं भने त्यो सायद अपुरो हुन्छ भन्ने लागेर असमर्थताका बाबजुत पनि यहाँहरुसामू उपस्थित भएको छु ।’ पार्टीले रविन्द्रको सपना र विचारलाई बोकेर अघि बढ्ने विश्वास व्यक्त गर्दै भट्टराईले परिवारका तर्फबाट पार्टीलाई पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आमाबाबु, भाइ र बहिनीको योगदानले दिवंगत मन्त्री रविन्द्र अधिकारीको राजनीतिक जीवन सफल हुन पाएको स्मरण गर्दै उहाँले पारिवारिक व्यवस्थापनमा लागि आफू प्राज्ञिक क्षेत्रमा लागेको बताउनुभयो । साथै परिवारले ‘रविन्द्र स्मृति प्रतिष्ठान’ बनाउने सोच बनाएकाले त्यसमा साथ दिन पार्टी र नेताहरुलाई भट्टराईले आग्रह गर्नुभयो ।

Facebook Comments