मुक्तिनाथ विकास बैंकद्वारा भक्तपुर र काभ्रेमा शाखा सञ्चालन
मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कंडेलले र बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कडेलले बैंकले ससाना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । श्रेष्ठले बैंकले स्थानीय संघसस्थाहरुसँग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारे जानकारी दिनुभयो । बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय तहसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैंकले देशभर १ सय १४ वटा शाखा, २० वटा ए.टि.एम र करिब ५ लाख ग्राहकलाई बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

