राजनीतिक स्थिरता भएका बेला काम गरौं – अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताउनुभएको छ । उहाले स्थिरता भएका बेला विकास र समृद्धिका पक्षमा काम गर्नुपर्ने बताउनुभयाे ।
नेकपाले शुक्रवार काठमाडौंमा आयोजना गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरू र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्डले विगत ७० वर्ष देखिको त्याग तपस्या पछि मुलुकमा अहिले राजनीति स्थिरता बनेकाे बताउनुभयो ।
स्थिर राजनीतिको अहिलेको अवस्थामा जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकास, शुसासन र संस्कारलाई गति दिने दायित्य पार्टी र सरकारको काँधमा आएको उहाको भनाई थियो । इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार छिटो छिटो आर्थिक विकास र सुशासन दिन सक्नुपर्नेमा प्रचण्डको जोड थियो ।
आर्थिक विकास र समृतिका लागि प्रकृतिक साधन स्रोत, मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टि सम्पन्न भएपनि पछिल्लो समयमा नेपाल परनिर्भर हुँदै गएकोले पनि त्यसलाई रोक्न सबैले नयाँ संकल्प गरेर आर्थिक विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले दिवंगत नेताहरूलाई सम्झँदै शोकमा रहेको अवस्थालार्ई शक्तिमा बदल्नुपर्नेमा जोड दिनुभयो । प्रभावशाली नेताहरुको निधनमा पार्टीले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसको क्षतीपुर्ति गर्न दिवंगत भएकाहरुको सपना पुरा गर्न सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

