धादिङको भंगेरिचुलीलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयकाे पहल
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै ओझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकासका लागि स्थानीयले पहल थालेका हुन् ।
विगतमा नाग पुजा गरिंदै आएको उक्त स्थानमा शिवमन्दिर निर्माण गरिएको छ । सोमबार शिवरात्रीको अवसर पारेर शिवमन्दिरको उदघाटन समेत गरिएको छ । मन्दिर निर्माणका लागि नेपाल पर्यटन वोर्डबाट २६ लाख ५५ हजार सहयोग भएको भंगेरिचुली शिवमन्दिर सम्रक्षण समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०७२ साल बैशाखबाट निर्माण शुरु गरिएको मन्दिर र मन्दिरसम्म पुग्ने सिंडी निर्माणमा पर्यटन वोर्डको सहयोग बाहेक स्थानीय जनश्रमदान रहेको उहाँको भनाई छ ।
उक्त स्थानमा थप भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।
भंगेरिचुली बारेको किम्बदन्ती
स्थानीय कृष्णप्रसाद श्रेष्ठका अनुसार भंगेरिचुली नेपाल एकीकरण हुनुभन्दा पहिले घलेराजाले शासन गरेको ठाउँ हो । त्यतिबेलाका सिपाही परेड खेल्ने ठाउँ अहिले टुँडिखेलका रुपमा यथावत रहेको छ । उहाँका अनुसार केही पुराना इट्टाहरु उक्त स्थानमा रहेका भग्नावशेषमा भेट्न सकिन्छ ।
भंगेरिचुलीमा घले राजाको बुबा, छोरी बस्ने गरेका र राजाको निधन पश्च्यात छोरी मात्रै रहेको र पछि छोरी एक्लै बस्न नसकेर सबै सम्पति त्यहि गाडेर काठमाडौं गएको किम्बदन्ती समेत रहेको कतिपय स्थानीय बताउँछन् ।
सो ठाउँमा जट्टाधारी जोगी आएर तपस्या बसेको ठाउंमा ब्रह्मचारी आएर जोगीको शिर छेदन गरेको किम्बदन्ती समते रहेको बताइन्छ । तरवारले शिर छेदन पश्चात टाउको र जीउ छुटिएकोले भीरबाट लड्दै गरेर तल झरेको टाउको तल्लो भागमा पुगेकोले भंगेरी भैरव र जीउ माथिल्लो भागमा अड्किएकोले भंगेरी भैरवी देवीको रुपमा भोगखानीको पुजा गर्न शुरु गरिएको बुढापाकाको भनाइ रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
विगतदेखि हिउँदको समयमा पानी नपरेपछि खिर चढाएर पुजा गर्ने गरिएको, देवी वा भंगेरी आएर भैरव भएर प्रसाद खाने गरेको र हर हर महादेव भन्दै पूजा गरेपछि पानी पर्ने गरेको मन्दिरका पुजारी नरहरी न्यौपानेले जानकारी दिनुभयो ।
दृश्यावलाेकनका लागि समेत भंगेरिचुली उपयुक्त
भंगेरिचुलीबाट डाँडाबाट गणेश हिमाल, मानाचुली हिमाललगायत हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । भंगेरिचुली डाँडाबाट पूर्वमा नुवाकोट, पश्चिममा गोरखा, उत्तर र दक्षिणमा धादिङ्कै भूभाग पर्दछ । सोहि ठाउँबाट मध्ये पहाडी लोकमार्ग अन्तर्गत कटुन्जे, बेत्रावती क्षेत्रमा सिधा रुपमा जोडिएका सडकको दृश्यावलोकन गर्न सकिछ। भंगेरिचुली मन्दिरसम्म पुग्नका लागि तलबाट करिब १२ सय सिंडी निर्माण गरिएका छन् ।

यस क्षेत्रमा घलेराजाहरुले प्रयोग गरेको ढिकी जाँतो देखेको र सो हालपनि रहेको स्थानीय समाजसेवी कृष्णप्रसाद रिमालले जानकारी दिनुभयो । त्यस समयमा घले राजाहरुले डाँडा बसेर शासन गर्दा त्यसबाट तल हेर्दा जनताको घरमा धुँवा आएको देखेपछि मात्र खाना खाने गरेको कारण नै यस ठाउँको नाम धुँवाकोट राखिएको जनश्रुति समेत रहेको छ ।
धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीले भंगेरिचुली क्षेत्रलाइ समेट्दै पर्यटकीय हिसाबले समेट्ने गरि सुनौलो बजार, खाल्टेपात्ले, काउले, धुँवाकोट, भंगेरिचुली देखि सेम्जोङ हुँदै गणेश हिमालसम्म पर्यटकीय पैदल मार्गको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ ।
भंगेरिचुली क्षेत्रलाई टुरिजम हव बनाउनको लागि मास्टर प्लान अनुरुप डीपीआर तयार गरिएको निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिनुभयो । यस्ता ऐटिहासिक, धार्मिक एवं साँस्कृतिक महत्व बोकेका भंगेरिचुली जस्ता स्थानहरुको संरक्षणका साथै प्रबद्र्धन गर्न सकेमा धार्मिक पर्यटनको विकास हुन सक्नेछ ।
मनाेज पराजुलीकाे सहयाेगमा

