बोइङ कम्पनीकाे ‘७३७ म्याक्स ८’ मोडलमा प्राविधिक समस्याकाे आशंका
इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै दुर्घटनामा परेपछि बोइङ्ग कम्पनीको नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलमा नै प्राविधिक कमजोरी रहेको आशंका गर्न गरिएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै अन्तरालमा दुर्घटना भएपछि यस्तो आशंका गरिएको हो ।
चीन सरकारले देशका सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई बोइङको उक्त मोडलका सबै विमानहरूलाई नउडाउन र तिनको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार छोटो समयमा उस्तै प्रकृतिका दुर्घटना भएपछि चीन सरकारले यस्तो निर्देशन दिएको हो ।
आइतबार इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै टावरसँग सम्पर्कविच्छेद भएर दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा सवार १५७ जनाको मृत्यु भयो । गत अक्टोबरमा पनि सोही मोडलको लायर एयरको विमान जाभा सागरमाथि दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । उक्त विमान पनि उडान भरेको १३ मिनेटमा नै दुर्घटना परेको थियो ।

बोइङ्ग कम्पनीका ‘७३७ म्याक्स ८’ मोडलका विमानले व्यावसायिक उडान थालेको दुई वर्ष मात्र भएको छ । एभिएसन विश्लेषक तथा अमेरिकी परिवहन विभागका पूर्वमहानिर्देशक मेरी शियाभो दुवै दुर्घटना एकै प्रकृतिको भएको तर्क गर्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभएको छ ।
नयाँ ब्राण्डको विमान छोटो समयमै यसरी दुर्घटना हुनु असामान्य रहेको टिप्पणी हुने गरेको छ । इथियोपियाली एयरलाइन्सको विमान र लायन एयरको विमान दुर्घटनामा धेरै समानता रहेको विज्ञहरुले बताएका छन् । सुरक्षाका लागि उपलब्ध गराइएका केही खास प्रविधिकाबारे पाइलटलाई राम्रो जानकारी नभएको गुनासो समेत गर्न थालिएको छ ।
खास परिस्थितिमा विमान एक्कासी तल झर्ने फिचर नयाँ मोडलमा समावेश भएपनि उपयोग हुन सकेको छैन । लायन एयर दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको परिवारले बोइङ्गविरुद्ध मुद्दासमेत दायर गरेका छन् । विमानमा जडान गरिएको नयाँ सुरक्षा फिचरका कारण खास परिस्थितिमा विमान ‘अटो डाइभ’ गर्ने भएकाले यसबारे कम्पनीले पाइटलहरुलाई उचित प्रशिक्षण नदिएको पीडित परिवारजनको आरोप छ ।

