सरकार नै संघीयता कमजोर बनाउन लाग्यो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संघीयतालाई कमजोर बनाउनेतर्फ लागेको बताउनुभएको छ । पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले प्रदेश र स्थानीय तहललाई सहज बनाउनेभन्दा पनि संघीयतालाई नै कमजोर बनाउनेतर्फ लागेको आरोप लगाउनुभयो ।

उहाँले प्रतिपक्षी दलले संसदबाट र बाहिरबाट पनि विरोध गरिरहेको उहाँको भनाई छ । अव थप संघर्ष गर्ने उहाँको भनाई रहेको छ । आन्दोलन सशक्त बनाउने भन्नुभएको छ त्यसको स्वरुप कस्तो हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले आन्दोलन भएपछि थाहा हुन्छ भन्ने जवाफ दिनुभयो ।

साथै उहाँले सिके राउतको स्वतन्त्र मधेस गठबन्धनलाई सहमतिमा ल्याउने कार्य सकारात्मक भएपनि सहमति भएपछि मधेसमा भएका क्रियाकलाप राष्ट्रविरोधी रहेको बताउनुभयो । चिकित्सा शिक्षा अध्यादेश आफूले अगाडि बढाए पनि वर्तमान सरकारले अध्यादेश फिर्ता गरेर पछि विधेयकमा तोडमोड गरेको देउवाको आरोप रहेको थियो ।

पार्टीभित्रकाे अन्तरविराेधबारे सञ्चारकर्मीकाे जिज्ञासामा उहाँले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले फरक विचार हुनु स्वभाविक हो, यसलाई अन्यथा लिन नमिल्ने टिप्पणी गर्नुभयाे । साथै देउवाले प्रेस स्वतन्त्रतालाइ कमजाेर बनाउने खालकाे विधेयक सरकारले ल्याएकाे भन्दै त्यसलाइ सच्याउन माग गर्नुभयाे ।

Facebook Comments