राजसंस्था पुनः स्थापनाको एजेण्डा सहित राप्रपाको मेची–महाकाली स्वाभिमान यात्रा पोखरामा
राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत पोखरामा आमसभा गरिएको छ । फागुनको १५ गते पूर्र्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरेको यात्रा पश्चिम महाकालीको कञ्चनपुर पुगेर मंगलबार पोखरा आई पुगेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताको रुपमा देशलाई विश्वमा चिनाउन स्वाभिमान यात्रा थालिएको बताउनुभयो । उहाँले हिन्दू राष्ट्र कायम गर्न र लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्न स्वाभिमानको यात्रा शुरु भएको जिकीर गर्नुभयो ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहनुभएका थापाले विदेशीहरुको दवावमा परेर राजनीतिक दलका नेतृत्वले हिन्दू धर्मको वेवास्ता र राजसंस्थालाई विस्थापित गरेको आरोप लगाउनुभयो ।
पछिल्लो १२ वर्षे राजनीतिक अभ्यासमा राष्ट्रिय विखण्डन, गरिवी र बेरोजगारी समस्या, लोकतन्त्रको नाममा लुटतन्त्र, धर्म र संस्कृतिमाथि प्रहार, सर्वसत्तावादी सोंच र पुनः माओवादी शक्तिको उदय भएको उल्लेख गर्नुभयो ।
राप्रपाले मध्यमार्गी विकल्पलाई अघि सारेको अध्यक्ष थापाको भनाई थियो । ‘माओवादीलाई शान्तिको मूलधारमा ल्याउने वहानामा मुलुकबाट राजसंस्था र हिन्दू राष्ट्र खोसिएको छ,’ उनले भने, ‘देश हिन्दू राष्ट्र बन्नुपर्छ । राजसंस्थालाई कायम राख्नुपर्छ ।’

पार्र्टीका नेता बुद्धिमान तामाङले राजसंस्थासहितको लोकतन्त्र, धर्म, परम्परा, राष्ट्रिय पहिचान र एकताका लागि सरकारलाई दवाव दिन स्वाभिमानको यात्रा शुरु गरेको बताउनुभयो । अर्का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय पहिचानलाई राज्यले बचाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्व हिन्दू महासंघका शंकर खराल, राप्रपा कास्कीका नेता बरुणविक्रम राणालगायतले बोलेका थिए । राप्रपा कास्कीका अध्यक्ष डा महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बिष्णुदेवी गुरुङले स्वागत र सचिव हरिप्रसाद बरालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

