विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हतारमा : सांसद एवं नेकपा नेता पौडेल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता पौडेलले पार्टीभित्र छलफल नभईकनै सरकारले हतारमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताउनुभयो ।
नेता पौडेलले भन्नुभयो, म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तरपनि राजनीतिक समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ । कुनैपनि पक्षलाई निषेध गरेर समस्या समाधान हुन सक्दैन ।
सरकारले लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्ने भन्दै नेता पौडेलले राजनीतिक समझदारी कायम गर्न सकेमा विकास निर्माणलाई सहयोग पुग्ने बताउनुभयो । नेता पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
सरकार र विप्लव नेतृत्वको पार्टी दुवै लचिलो हुनुपर्ने बताउनुभयो । सरकारले मंगलबार विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । साथै नेता पौडेलले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । पौडेलले सकेसम्म अहिले भएकै मन्त्रीहरुबाट काम प्रभावकारी बनाउने प्रयास गरिने नभए मन्त्रिमण्डल पूर्नगठन गरेर भएपनि सरकारको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

