सभागृहमा शंकास्पद बस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलमा
पोखराको सभागृहमा शंकास्पद बस्तु फेला परेको छ । सभागृहको ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको हो । उक्त स्थानमा सुरक्षामा खटिएका एक प्रहरीका अनुसार सानो सुतली बम जस्तो बस्तु फेला परेको हो । ति प्रहरीका अनुसार विहान ४.३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरुले नै राखेको हुन सक्ने अनुमान रहेको छ ।
अहिले उक्त स्थानमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले घेरा हालेर शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी भइरहेको छ । प्रहरीले उक्त स्थान वरपर सवारी साधन तथा पैदलयात्रीलाई जान दिएको छैन । भण्डारढिकमा पनि पृथ्वी राजमार्गकाे मुख्य सडकमा नै शंकास्पद बस्तु भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
यसअघि बुधबार साँझ पनि औधोगिक क्षेत्र आसपास ठूलो आवाज सहित केही पड्केपछि सर्वसाधरण त्रसित भएका थिए । स्थानीयले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ३० गते विहीबार बन्द आयोजना गरेकाले बम नै पड्केको हुन सक्ने आशंका गरे । प्रहरीको १०० नम्बरमा फोन गरेर सोध्दा भने मियापाटनमा वैवाहिक कार्यक्रममा पटका पड्केकाे सूचना रहेको जानकारी गराइएको थियो ।
बन्दले जनजीवन प्रभावित

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । पोखराबाट लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधान चल्न सकेका छैनन् । बजार बन्द रहेको छ । पाेखराबाट छुट्ने लामाे दुरीका सवारी साधनका टिकट काउण्टर बन्द रहेका छन् । मोटरसाइकल र निजी सवारी साधन चलेपनि सार्वजनिक सवारी नचल्दा जनजीवन प्रभावित बनेको छ ।

