विप्लवको पार्टीलाई सहयोग गर्नेलाई पनि कार्वाही
सरकारले नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
मन्त्री परिषद बैठकको निर्णय जानकारी दिन विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रतिबन्धबारे औपचारिक जानकारी दिनुभएको हो ।
संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल र्पुयाउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएकाले प्रतिबन्ध लगाउने निर्णय गरिएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
अपहरण, धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र निर्वाचित जनप्रतिनिधिलाई धम्की दिने गरेकाले सो पार्टीका गतिविधिमा प्रतिबन्ध लगाएको उहाँको भनाइ थियो । यसैगरी सरकारले अवैध हतियार भएमा तत्काल बुझाउन आह्वान गरेको छ ।
विप्लव समुहको आतंक गतिविधि बढिरहेका बेला मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हात हतियार ३५ दिनभित्र बुझाउन आह्वान गरेको हो । सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार इजाजत नलिएको, नविकरण नगरेका, इजाजत प्राप्त व्यक्तिको मृत्यु भईसकेका अवस्थामा राखिएका हतियार बुझाउन सार्वजनिक सूचना निकाल्ने निर्णय भएको छ । साथै तोकिएको अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाहा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

