टेवानद्वारा ताङतिङमा महिला स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङ गाउँमा शुक्रबार ग्रामीण घरबास तथा महिला स्वास्थ्य सम्बन्धी सचेतनात्मक कार्यक्रम गरेको छ ।
ताङतिङको हिमाल मिलन माविमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, होमस्टे सञ्चालक र स्थानीय सहभागी भएका थिए ।

उक्त अवसरमा टेवानले विद्यालयलाई सेनिटरी प्याड सहयोगस्वरुप हस्तान्तरण ग¥यो । कार्यक्रममा टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले होमस्टे सञ्चालन गर्दा सरसफाइमा विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

व्यवस्थित होमस्टे सञ्चालन गर्न अरुभन्दा फरक भएर देखाउनुपर्ने उहाँको भनाई थियो । महिलाले रोग लुकाउँदा ज्यानै जाने खतरा हुने भएकोले निर्धक्क भएर चिकित्सकलाई देखाउनुपर्नेमा कार्कीको जोड रहेको थियो ।

महिला स्वास्थ्यका बारेमा डा.रुमी तण्डुकारले महिलामा महिनावारी हुँदा देखिने समस्या, तिनका समाधानका उपायबा बारेमा जानकारीमूलक मन्त्व्य राख्नुभयो । महिनावारी सामान्य विषय भएकोले लाज मान्न नहुने उहाँको भनाई थियो ।

टेवान उपाध्यक्ष रेणु थापाले महिनावारी हुँदा विद्यालयबाट घर जान नपरोस् भन्नका लागि सेनिटरी प्याड सहयोग गरेको बताउनुभयो । महासचिव कमला गिरीले पश्चिमको छाउपडि प्रथाजस्तै महिनावारी बार्ने चलन अझैं पनि गाउँगाउँमा रहेको भन्दै अन्धविश्वासको पछि नलाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मादी २ का अध्यक्ष एकजंग गुरुङले ताङतिङको होमस्टेले महिलालाई आयआर्जन गर्न सहयोग गरेको जानकारी दिनुभयो । उहाँले पोखराबाट सामान बोकेर गाडी आएपनि फर्किदा खाली पठाउनुपरेकोमा दुःख लागेको बताउनुभयो ।

Facebook Comments