नेकपाको सचिवालयमा जिल्ला तहको नेतृत्वका विषयमा छलफल
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावली सहितका विषयमा छलफल हुने बताइएको छ । दुई अध्यक्षले तयार पारेको प्रस्तावलाई सचिवालय बैठकले अन्तिम रुप दिनेछ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।
अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव तयार पार्नु भएको हो । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आज बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुने भएको हो ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आज बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिनुभयो । पार्टी तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्रै असन्तुष्टि बढेको छ ।

