७५ बर्षको उमेरमा नागरिकता, अब त अल्लि बर्ष बाच्छु कि !
घनश्याम पाण्डे
नेपाली नागरिकले आफ्नो उमेर १६ बर्ष पुगेपछि देशको नागरिकको परिचयको रुपमा नागरिकता पाउने गर्छन । त्यही नागरिकताको आधारमा नागरिकको पहिचान, रोजगारीदेखि राज्यबाट पाउने सेवा सुविधाको अधिकार शुरु हुन्छ ।
तर स्याङजाको भीरकोट नगरपालिकामा भने एक बृद्धाले ७५ बर्षको उमेरमा बल्ल नागरिकता पाउनुभएको छ । २००१ सालमा भीरकोट नगरपालिका वडा नं ९ मा जन्मनुभएकी फुलमती सार्कीले ७५ बर्ष उमेर पुगेपछि बल्ल नागरिकता पाउनुभएको हो । भीरकाेट नगरपालिका र स्थानीय समाजसेवी नमुना स्वरेक सहयोगी समाजका स्याङजाका सहसचिव कृष्ण पौडेलकाे समेत सहयाेगमा यही फागुन २९ गते उहाँले नागरिकता प्राप्त गर्नुभएकाे हाे ।
फुलमतीको विवाह वडा नं ८ का बुद्धीराम सार्कीसंग भयो । एक छोरीको जन्म भएको र श्रीमान बुद्धिराम बैदेशिक रोजगारीको लागि भारत गएकोमा उतै मृत्यु भएपछि उहाँ सहारा विहिन नै हुनुभयो । श्रीमानको मृत्यु भएको र छोरीको पनि विवाह भएपछि फेरि एक्लो हुनुभयो, दैनिक गुजाराका लागि अर्कैको घरमा भाडा माझ्न थाल्नुभयो ।
पछिल्लो समयमा बुढ्यौलीका कारण काम गर्न नसक्दा जीवनदेखि नै फुलमतीलाई निराशा नबढेको होइन । त्यसमा पनि नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत उहाँ बञ्चित हुनुपर्यो । बृद्धभत्ता सम्म पाउन पाएपनि यो बुढो ज्यानलाई केही आराम हुन्थो र अल्लि बर्ष बाचिन्थो की जस्तो लागेको बताउने फुलमती अहिले भने जिल्ला प्रशासन कार्यालय स्याङजा बाट नागरिकता पाएपछि खुशी हुनुभएको छ ।
नागरिकता पाएपछि फुलमतीले हर्षित हुँदै भन्नुभयो, ‘अब त सरकारले भत्ता दिन्छ होला ।’ साथै उहाँले अब अल्लि बर्ष बाच्छु होला जस्तो लागेको बताउनुभयो । आर्थिक अबस्था कमजोर रहेको र नागरिकतापनि नभएको थाहा पाएपछि नमुना स्वरेक सहयोगी समाजका स्याङजाका सहसचिव कृष्ण पौडेलले नागरिकता बनाइदिन पहल गर्नुभएको थियो ।
पौडेलले भीरकोट वडा नं ८ र ९ का वडा सचिव वडाध्यक्ष र भीरकोटका मेयर छायाराम खनालसंगको छलफल र सहयोगपछि नागरिकता बनाउने कार्य सहज भएको जानकारी दिनुभयो । मेयर खनालले ७५ बर्षको उमेर सम्म नागरिकता नभएको जानकारी आउने वित्तिकै पहल गरेर नागरिकता बनाउन सहयोग गर्नुभएको थियो ।
मेयर खनालका अनुसार नागरिकता बनाउन जान आउन लागेको खर्च रु ५००० समेत नगरपालिकाले नै उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले असाहय फुलमतीको लागि आबश्यक सहयोग गर्ने बताउनुभएको छ । नागरिकता बनाउन सक्रिय भुमिका खेल्नुभएका पौडेलले असाहय फुलमतीलाई थोरै भएपनि सहयोग गर्न मनकारीहरुसंग आग्रह गर्नुभएको छ ।

